रास्वपा सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आज भारत प्रस्थान गर्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आज भारत प्रस्थान गर्दै छन्। भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भारत जान लागेका सभापति लामिछाने जेठ २२ गतेसम्म भ्रमणमा रहने भएका हुन्।
सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य रहनेछन्। भ्रमणका क्रममा सभापति लामिछानेले नयाँ दिल्लीमा उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यसूची रहेको छ। उनले भाजपा नेतृत्व, भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। भेटघाट, छलफल तथा भ्रमणका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासले समन्वय गरिरहेको रास्वपाले जनाएको छ।